
विवाह पञ्चमी महामहोत्सव अन्तर्गत मटकोर विधि सम्पन्न
जनकपुरधाम । जनकपुरधाममा जारी रहेको सीताराम विवाह पञ्चमी महामहोत्सवको पाँचौँ दिन आज मटकोर विधि सम्पन्न भएको छ ।जनकपुरधामको जानकी मन्दिरबाट माता जानकीको स्वरूपलाई कलात्मक रथमा राखेर नेपाली सेनाको व्याण्ड र अन्य बाँजा गाँजासहित सुरक्षाकर्मीहरूको सुरक्षा घेरामा जनकपुरधामको प्रसिद्ध गंगासागरमा माटो खन्ने गरिन्छ जसलाई मटकोर विधि भनिन्छ । गंगासागरमा आयोजना हुने मटकोर विधिमा सहभागी हुनका लागि जानकी मन्दिरबाट साधु सन्त, महन्थ, योगी, सन्यासी, भिक्षु भिक्षुणी तथा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता रहेको छ । मटकोर विधिमा आज दिउँसै सेभ हिस्टोरिकल जनकपुरधामद्वारा गंगा आरतीको आयोजना गरिएको छ । मटकोर विधिमा महिलाहरूले विभिन्न प्रकारका परम्परागत सांस्कृतिक गीतहरू पनि गाएका थिए । मटकोर विधि हेर्नका लागि गंगासागर क्षेत्रमा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता रहेको थियो । मटकोर विधिमा उत्खनन् गरेर ल्याएको माटोलाई जानकी मन्दिरमा निर्माण गरिने विवाहको मण्डपमा बनाइने विवाहको बेदीमा प्रयोग गरिने चलन रहेको छ । सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत भोलि दिउँसो स्वयंम्बर तथा राति जानकी मन्दिरको परिसरमा निर्माण भएको विवाह मण्डपमा प्रतिकात्मक विवाहको कार्यक्रम रहेको छ । सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत पर्सि १३ गते रामकलेवा रहेको छ । रामकलेवामा भारतबाट आएका जन्ती तथा सरीयातीहरुलाई राखेर प्रसादको रुपमा भोजन गराउने चलन रहेको छ । सोही दिन जन्तीहरूलाई बिदाइ गर्ने चलन रहेको छ । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा, जनकपुरधामका विद्यालय तीन दिन बन्द विवाह पञ्चमीलाई दृष्टिगत गरेर रेल सेवा विस्तार, बसको अभावले यात्रीहरू मारमा
सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज एक शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीको अवसरमा भोलि प्रदेशभरि सार्वजनिक बिदा रहेको जानकारी दिनुभएको छ । सप्ताहव्यापी रुपमा जनकपुरमा धुमधामसित मनाइने सीताराम विवाह पञ्चमीको भोलि मुख्य दिन रहेकाले प्रदेश सरकारले विगत वर्ष जस्तै बिदा दिएको छ । यसैगरी जनकपुरधामको नीजि तथा सामुदायिक विद्यालयहरूमा आजदेखि तीन दिनका लागि बिदा दिइएको छ । सीताराम विवाह पञ्चमी महामहोत्सवमा आउने तीर्थयात्रीहरूको बाँसको तथा भिडलाई ध्यानमा राखेर विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको हो । खास गरेर नेपाल तथा भारतको विभिन्न भूभागबाट ठूलो सङ्ख्यामा तीर्थयात्रीहरू जनकपुरधाम आउने क्रम विगत दुई दिनदेखि जारी रहेको छ ।
तीर्थयात्रीको सुविधाका लागि जनकपुरधाम जयनगर ब्रोडगेज रेल सेवालाई विस्तार गरेर आजदेखि तीन पटक सञ्चालनमा ल्याइएको छ ।सीताराम विवाह पञ्चमीको एक दिन अगाडी आजदेखि रामकलेवासम्म प्रत्येक दिन तीन पटक रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जन कुमार झाले जानकारी दिनुभयो । कम्पनीले मङ्सिर ११, १२ र १३ गते गरेर भारतको सिमानामा गर्ने जयनगर रेल्वे स्टेसनबाट कुर्थासम्म बिहान साढे ८ बजे , दिउँसो साढे १२ बजे तथा साढे तीन बजे जनकपुरधामका लागि प्रस्थान गर्ने जनाएको छ । यसैगरी, जनकपुरधामबाट बिहान १०ः४५ बजे, १ः४० बजे र ५ः१५ बजे जयनगरका लागि छुट्ने प्रबन्ध सञ्चालक झाले जानकारी दिनुभयो । जनकपुरधामको कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालनमा रहेको छ ।रेल सेवाले भारतबाट आउने तीर्थयात्रीहरूलाई जनकपुरधाम आउनका लागि निक्कै सहयोग मिलेको छ । तर महोत्तरी जिल्लाको भिठामोड नाकाबाट भारतीय सवारी साधनबाट आएका तीर्थयात्रीहरूका लागि पर्याप्त मात्रामा बस सेवाको व्यवस्था नभएका कारणले तीर्थयात्रीहरू कष्टपूर्ण यात्रा गर्नका लागि विवश भएका छन् । थोरै बस सेवा सञ्चालन भएकाले यात्रीहरूले पर्याप्त सेवा नपाएर दुःख भोग्नु परिरहेको दुखेसो तीर्थयात्रीहरूले गरेका छन् । कतिपय यात्रीहरू भिठ्ठामोडबाट जनकपुरधामका लागि पैदल नै हिँडेको देखिएको छ । साभार : रेडियो नेपाल
