
प्रधानमन्त्रीलाई पदबाट निलम्बन गर्न माग गरिएको मुद्दा सपना प्रधान मल्लको इजलासमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट निलम्बन गर्न माग गरिएको मुद्दाको पेशी सर्वोच्च अदालतमा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा तोकिएको छ । रिटमा प्रधानमन्त्री दाहाल र तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गरिएको छ ।सशस्त्र युद्धका बालसेना लेनिन विष्टले मुद्दा दायर गरेका हुन् । बिष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै दरपीठ गरिदिएको थियो । तर, विष्टले दरपीठविरुद्ध फेरि सर्वोच्चमै निवेदन दिए । विष्टको निवेदनमाथि सुनुवाइपछि न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । सोही अनुसार दर्ता भएको रिटको आज पेशी तोकिएको हो ।रिटमा दुबै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ । यसक्रममा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत उनको माग छ । आफूहरुलाई अयोग्य लडाकू भनेर अपमान नगर्न पनि आदेश दिनुपर्ने रिट निवेदकको माग छ ।साभार : डिसी नेपाल
