
अवि प्रतिष्ठानद्वारा मावि बनौटाका चार बिद्यार्थी सम्मानित
जनकपुरधाम,असार ३१ गते । अवि प्रतिष्ठान नेपालको आयोजनामा आइतबार महोत्तरी जिल्लाको बलबा नगरपालिका ७ स्थित जनता मावि बनौटामा अध्ययनरत चार जना बिद्यार्थीलाई नगद सहित कदर पत्र प्रदान गरिएको छ । सोहि बिद्यालयबाट अध्ययन गरेका ईन्जिनियर तथा प्रतिष्ठानका अध्यक्ष विनोद चन्द झाले जमाहिर झा, महाकान्त झा पुरस्कारबाट सो विद्यालयमा कक्षा ११ मा अध्ययनरत विजय कुमार राम,पप्पु ठाकुर बरही,कृति कुमारी झा तथा संजु कुमारीलाई जनही ३ हजार आर्थिक सहयोग एवम् कदर पत्र प्रदान गरिएको छ । सो विद्यालयका प्रधानाध्यापक विमलेश यादवको अध्यक्षतामा भएको आर्थिक सहयोग तथा पुरस्कार वितरण समारोहमा बोल्दै प्रतिष्ठानका अध्यक्ष झाले आफु पढेको उक्त विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीको सहयोगका लागि आफुले ३ लाख अक्षय कोष खडा गरी सोको रकमको व्याजबाट वर्षेणी दुई जना छात्र तथा दुई जना छात्रालाई आर्थिक सहयोग गरी अध्ययन प्रति उत्साहित बनाउने बताउनु भयो । उक्त प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, सरसफाई, जीवन स्तरमा सुधारका लागि तथा सामाजिक विकृतिका विरुद्धमा आवाज उठाउने संस्था रहेको बताउनु भयो । अगामी दिनमा स्थानीय जनप्रतिनिधिहरु संगको समन्वयमा आफुले थप काम गर्ने बताउनु भयो । सो कार्यक्रममा बोल्दै वलवा नगरपालिकाका प्रमुख राम विजय महतोले अगामी दिनमा सो संस्थाले अन्य कक्षाका विद्यार्थीलाई समेत पुरस्कृत गर्न आग्रह गर्नुभयो । सो कार्यक्रममा बोल्दै वडाध्यक्ष भुवनेश्वर प्रसाद यादवले आफ्नो समाजको विकासका लागि अवि प्रतिष्ठान संग समन्वय गरी थप कार्यक्रम ल्याई विद्यार्थीहरुलाई सहयोग गर्ने बताउनु भयो । पुरस्कार वितरण समारोहका अध्यक्ष सो विद्यालयका प्रधानाध्यापक विमलेश यादवले चार जना कक्षा ११ मा पढ्ने विद्यार्थीहरु मध्ये चारजनालाई छनोठ गर्न समिति बनाएको बताउनु भयो । शिक्षकहरुको समन्वयमा विद्यार्थीहरुको अनुसाशन,नियमितता, शिक्षामा लगाव , आर्थिक अवस्था लगायतका विषयका आधारमा विद्यार्थी छनोट गरिएको बताउनु भयो । सो प्रतिष्ठानले धनुषाको जनकपुरधाम उपमहानगरपालिका ८ स्थित यज्ञ्यवल्क्य संस्कृत मावि ज्ञानकुपका चार जना विद्यार्थीलाई समेत आर्थिक सहयोग तथा कदर पत्र प्रदान गरेको अध्यक्ष झाले जानकारी दिनुभयो ।
