
मोबाइलको लगी हत्या गर्ने दुइजनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिए
जनकपुरधाम१२ गते
साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुइजनालाई नियन्त्रणमा लिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा औरही गाउँपालिका वडा नम्बर ६ चक्कर टोल हाल जनकपुरधाम २४ बसहिया बस्ने पवन सहनी र जनकपुरधाम २४ बसहिया मुसहरी टोलका हरिचन मण्डललाई नियन्त्रणमा लिइएको हो ।
कार्तिक १० गते इस्कन मन्दिर नजिक एक धान खेतमा महराको शव बरामद भएपछि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा उनकै साथीद्वय सहनी र मण्डलको संलग्नता रहेको जनाइएको छ । जटहीस्थित नेपाल भारत सीमा पारीबाट प्रतिबन्धित लागु औषध सेवन गरी आएका तीनै जनाबिच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा पछाडीबाट भाटाले प्रहार गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले जानकारी दिनु भयो ।
घटनाको क्रममा मृतकले प्रयोग गर्ने साइकल, मोबाइल सेट, घटनामा संलग्न रहेका हरिचनले हत्या गर्ने समयमा प्रयोग गरेको टिसर्ट, बाँसको भाटा, पवन सहनीको मोबाइल समेत जिल्ला प्रहरी कार्यालय धनुषाले बरामद गरेको छ ।
पक्राउ परेका दूबै बिरुद्ध कर्तव्य ज्यान मुद्दा लगाई थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
