महोत्तरी २– हेवीवेट नेताकाबीच रास्वपाका उम्मेदवार दीपककुमार साहको चुनौती


जनकपुरधाम ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर २मा जसपा नेपालबाट शरतसिंह भण्डारीले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसबाट किरण यादवले उम्मेदवारी दिएका हुन् । यी दुई हेवीवेट नेताहरुका बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दीपककुमार साहले उम्मेदवारी दिएका छन् । यो निर्वाचन क्षेत्रमा २०७४ सालमा निर्वाचन हुँदा भण्डारीले कांग्रेस उम्मेदवार यादवलाई नै पराजित गरेर प्रतिनिधिसभा पुगेका थिए । २०७९ सालको निर्वाचनमा पनि भण्डारी नै निर्वाचित भएका थिए ।
फागुन २१ गते हुने निर्वाचनकालागि फेरी भण्डारी र यादवबीचको प्रतिस्पर्धा हुने भएको छ । तर यी दुई उम्मेदवारहरुकाबीच रास्वपाका उम्मेदवार दीपककुमार साहको उम्मेदवारीले पनि चर्चा पाई रहेको छ । रास्वपाका उम्मेदवार यी नेताहरु पटक पटक शासनमा पुग्दा समेत महोत्तरी २को अवस्था ज्युँको त्युँ नै छ । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २को भूमि उर्वर र समथर हुँदाहुँदै समेत कर्णालीभन्दा पनि पछाडि पर्नुमा यीनै नेताहरु जिम्मेबार रहेको साहको आरोप छ । उनले महोत्तरी २ शिक्षा, स्वास्थ्य, इन्फ्रास्ट्रक्चर तयार लगायतको क्षेत्रमा एकदमै पछाडि पर्नु चिन्ताको विषय रहेको उनको भनाई छ । साहले भने ‘यो क्षेत्र पछाडि पर्नुमा यहाँबाट जितेर गएका नेताहरुको नेतृत्व क्षमताको अभाव र पैरवी गर्न सक्ने क्षमता अभाव मूल कारण हो ।’ उनले यो क्षेत्र उर्वर रहेकाले यस क्षेत्रको विकासकालाग नेतृत्व गर्न सक्ने नेताको आवश्यक्ता रहेको बताए ।
उनले आफू महोत्तरी निर्वाचन क्षेत्र २मा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विकास गर्ने आफूसंग योजना रहेको बताए । उनले महोत्तरी २लाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्न सकिने बताए । तर यसकालागि बालेन मोडेल सरकार मुलुकमा हुनु आवश्यक रहेको बताए ।
हुनत महोत्तरी २मा भण्डारी र यादवको चर्चा तीव्र रुपमा भईरहँदा रास्वपाको अहिले देशैभरी लहर देखिएकाले रास्वपाका उम्मेदवार साहलाई पनि कमजोर आँक्न सकिने अवस्था छैन ।

1 महीना पहिले    998 Post Views