“मधेसका मुद्दा कांग्रेसले पूरा गरेर देखाउँछ : गगन थापा
जनकपुरधाम, माघ १६
नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्ष मधेसलाई केन्द्रमा राखेर काम गर्नका लागि मतदातासँग कांग्रेसलाई मत दिन अपिल गर्नुभएको छ।
मधेसको राजधानी जनकपुरधाममा आयोजित ८ वटै जिल्लाका उम्मेदवार तथा जिल्ला अध्यक्षहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले नयाँ सोच र स्पष्ट दृष्टिकोणसहित नेपाली कांग्रेस चुनावी मैदानमा उत्रिएको उल्लेख गर्नुभयो। उहाँले पाँच वर्षका लागि पार्टीलाई सरकार सञ्चालन गर्ने अवसर दिन आग्रह गर्नुभयो।
थापाले नेपाली कांग्रेस मधेसका मुद्दाप्रति प्रतिबद्ध रहेको बताउँदै भन्नुभयो, “मधेसवादीलाई भोट दिन्छु भन्नेहरूलाई कांग्रेस नै सबैभन्दा पुरानो र असली मधेसवादी पार्टी हो भन्ने विश्वास दिलाउन सक्नुपर्छ।” उहाँले मधेसका बाँकी रहेका मुद्दाहरू कांग्रेसले पूरा गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
मधेसका मुद्दामा स्पष्ट र निर्भीक रूपमा बोल्न सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै थापाले पार्टीका नेता–कार्यकर्तालाई चुनावमा राष्ट्रिय र स्थानीय दुवै मुद्दा लिएर जनतामाझ जान आग्रह गर्नुभयो।
थापाले जेन–जी (Gen Z) युवाहरूका माग र चाहनालाई सम्बोधन गर्ने पार्टी नेपाली कांग्रेस नै भएको दाबी गर्नुभयो। विशेष महाधिवेशनमार्फत पार्टीलाई नयाँ स्वरूप दिइएको बताउँदै उहाँले नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो मात्र नभई सबैभन्दा नयाँ पार्टीसमेत भएको दाबी गर्नुभयो। यस सन्देशलाई जेन–जी युवासम्म पुर्याउन कार्यकर्ताहरूलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो।
नेपाली कांग्रेस अब रूपान्तरित भइसकेको दाबी गर्दै सभापति थापाले पार्टी उत्तेजना फैलाउने होइन, देश सम्हाल्ने जिम्मेवार शक्ति भएको बताउनुभयो। उहाँले देशमा भएको विध्वंश र विनाशलाई पुनः सही ट्र्याकमा ल्याउने क्षमता नेपाली कांग्रेससँग मात्र रहेको दाबी गर्नुभयो।
1 महीना पहिले
  
200 Post Views


