जनकपुरधाममा फुटपाथ अतिक्रमण विरुद्ध हस्ताक्षर अभियान सुरु
जनकपुरधाम माघ १७
जनकपुरधामका मुख्य सडक तथा बजार क्षेत्रमा बढ्दो फुटपाथ अतिक्रमणविरुद्ध हस्ताक्षर अभियान सुरु गरिएको छ । पत्रकार ध्रुब झाको पहलमा सुरु गरिएको उक्त अभियान अव्यवस्थित व्यापार र अतिक्रमणका कारण सर्वसाधारणको हिँडडुलमा भइरहेको समस्याप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले सञ्चालन गरिएको हो ।
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार परमेश्वर साहको उपस्थितिमा अभियानको औपचारिक सुरुआत गरिएको थियो । अभियानमा स्थानीय नागरिक, व्यापारी तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार साहले जनकपुरधामलाई व्यवस्थित, सुन्दर तथा नागरिकमैत्री शहर बनाउन फुटपाथ अतिक्रमण नियन्त्रण अनिवार्य रहेको बताए । “सडक र फुटपाथ आम नागरिकको साझा सम्पत्ति हुन् । तिनको दुरुपयोग रोक्न स्थानीय सरकार, प्रहरी र नागरिक सबैको सहकार्य आवश्यक छ,” उनले भने । निर्वाचित भएमा शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै फुटपाथ अतिक्रमणमुक्त अभियानलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
हस्ताक्षर अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट धनुषा क्षेत्र नम्बर–३ मा उम्मेदवारी दिएका मनिष झाको समेत सहभागिता रहेको थियो ।
अभियानका संयोजक पत्रकार ध्रुब झाले विगत डेढ वर्षदेखि निरन्तर रूपमा फुटपाथ अतिक्रमणविरुद्ध आवाज उठाउँदै आएको जानकारी दिए । “जनकपुरधाममा पैदल यात्रु सुरक्षित रूपमा हिँड्न नपाउने अवस्था गम्भीर समस्या बनेको छ । यो केवल सौन्दर्यको विषय मात्र नभई नागरिक अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो,” उनले भने ।
प्रशासनको उदासीनताका कारण समस्या झन् जटिल बन्दै गएको उल्लेख गर्दै झाले अब नागरिक दबाबमार्फत समाधान खोज्ने उद्देश्यले हस्ताक्षर अभियान सुरु गरिएको बताए । हस्ताक्षर संकलनपछि सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाइने योजना रहेको उनको भनाइ छ ।
स्थानीय बासिन्दाहरूले अभियानको स्वागत गर्दै जनकपुरधामलाई व्यवस्थित र नागरिकमैत्री शहर बनाउन यस्ता नागरिक पहल निरन्तर हुनुपर्नेमा जोड दिएका छन् ।
30 दिन पहिले
  
264 Post Views


