मधेस प्रदेशसभा ८ वर्षः सुशासन र समृद्धिको प्रतिबद्धता दोहोरियो

जनकपुरधाम माघ २१
मधेस प्रदेशसभाको ८औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइएको छ । अवसरमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यहरूले संघीयता कार्यान्वयन, अधिकार बाँडफाँट र संघ सरकारको भूमिकालगायतका विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभले संघीयता सफल बनाउन अधिकार र अवसरको न्यायोचित वितरण अनिवार्य रहेको बताए । संघीयता भूगोलको विभाजन मात्र नभई सिंहदरबारका अधिकार जनताको घरदैलोसम्म पुर्‍याउने संरचना भएको उल्लेख गर्दै उनले लोकतन्त्रको सुन्दरता जनताले आफ्ना प्रतिनिधिमार्फत आफ्नै लागि कानुन निर्माण गर्न सक्नुमा निहित रहेको धारणा व्यक्त गरे ।
विगत आठ वर्षमा मधेस प्रदेशसभाले विभिन्न उतार–चढावबीच संघीयता कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले प्रदेशको नामाकरण र राजधानी चयन प्रक्रियामा देखिएको सहमति र सुझबुझलाई राजनीतिक परिपक्वताको उदाहरणका रूपमा प्रस्तुत गरे ।
प्रदेश प्रमुख लाभले प्रदेशसभा कानुन निर्माणमा मात्र सीमित नभई जनताका समस्या समाधान गर्ने केन्द्रका रूपमा स्थापित हुनुपर्नेमा जोड दिए । समृद्ध मधेस निर्माणका लागि राजनीतिक दलहरू विकासमुखी सोचका साथ अघि बढ्नुपर्ने र प्रदेशको स्वाभिमान उच्च राख्दै आर्थिक समृद्धि तथा सामाजिक समावेशितामा विशेष ध्यान दिनुपर्ने उनले बताए ।
मुख्यमन्त्री कृष्ण यादवले संघ सरकारले मधेस प्रदेशप्रति गर्ने व्यवहार अन्य प्रदेशको तुलनामा फरक रहेको गुनासो व्यक्त गरे । जनसंख्याका आधारमा अवसर र स्रोतको बाँडफाँट हुनुपर्ने उल्लेख गर्दै उनले संघीयताको मर्म अझै पूर्ण रूपमा आत्मसात् हुन नसकेको टिप्पणी गरे । संघीयताको सार नागरिकसम्म सरकारको पहुँच र सरकारसम्म नागरिकको सहज पहुँच हुनुपर्ने भए पनि व्यवहारमा त्यसको अभाव देखिएको उनको भनाइ थियो ।
कार्यक्रमका सभापति तथा प्रदेशसभा सभामुख रामअशिष यादवले जनप्रतिनिधिहरूले नैतिक मूल्य–मान्यताभित्र रही जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । जनताले प्रतिनिधिको कामको निरन्तर मूल्यांकन गरिरहेकाले सुशासन कायम गर्न सबै जिम्मेवार हुनुपर्ने उनले बताए ।
समारोहमा प्रदेशसभा सदस्य राम सरोज यादवलाई उत्कृष्ट सांसदका रूपमा सम्मान गरिएको थियो ।

26 दिन पहिले    186 Post Views