पद र शक्तिको मोहमा पदीय मर्यादा बिर्सनु नै भ्रष्टाचार हो : प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ

जनकपुरधाम । माघ २८
मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आर्थिक लेनदेनमा हुने गडबडी मात्र नभई पद र शक्तिको मोहमा पदीय मर्यादा बिर्सिनु पनि भ्रष्टाचारकै रूपमा लिनुपर्ने बताउनु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख लाभले पद र शक्तिको उन्मादमा मर्यादा विपरीत गरिने हरेक कार्य भ्रष्टाचार भएको स्पष्ट पार्नु भयो । उहाँले विदेह भूमि जनकपुरधाममा कार्यक्रम आयोजना हुनुको सान्दर्भिकता उल्लेख गर्दै राजर्षि जनकको दर्शनले पद र शक्तिको मोहमा पदीय मर्यादाबाट विमुख हुनु सबैभन्दा ठूलो विचलन भएको सन्देश दिने बताउनु भयो ।
प्रदेश प्रमुख लाभले आयोगको स्थापना यताका उपलब्धि र उतार–चढावको चर्चा गर्दै भ्रष्टाचार नियन्त्रणको अभियानमा सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक योगदान गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले विकास निर्माण लगायतका योजनामा अख्तियारमा निवेदन दिने परिपाटी बढ्दै गएकोप्रति ध्यानाकर्षण गराउनु भयो । उहाँले यस किसिमका निवेदनका कारण कर्मचारीहरू काम गर्न हिचकिचाउने अवस्था सिर्जना भएको र बजेट खर्च हुन नसकेको समस्या रहेको बताउनु भयो । यस्ता समस्याको समाधान खोज्दै अख्तियारले काम गर्ने सहज वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख रामबहादुर कुरुवाङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मधेस प्रदेशसभा सभामुख रामआशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेललगायतले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।

19 दिन पहिले    182 Post Views