जनकपुरधाममा सडक छेउबाट युवतीको शव फेला, हत्याको आशंका
जनकपुरधाम । माघ २८
जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियास्थित सडक छेउमा एक युवतीको शव फेला परेको छ ।
स्थानीय बासिन्दाले बुधबार बिहान सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।
प्रहरीका अनुसार मृतकको पहिचान खुल्ने प्रक्रिया जारी रहेको छ भने घटनालाई शंकास्पद रूपमा हेरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले घटनास्थलको अवस्था हेर्दा मृत्यु स्वाभाविक नदेखिएको बताएका छन् ।
उनले भने, “घटनास्थलको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने आशंका छ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन विवरण सार्वजनिक गर्न सकिन्छ।”
प्रहरीका अनुसार घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । घटनामा संलग्न हुनसक्ने व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
19 दिन पहिले
  
171 Post Views


