खेत जोत्ने क्रममा ट्याक्टर दुर्घटना: महोत्तरीमा दुई बालिकाको मृत्यु

जनकपुरधाम माघ29 ।
महोत्तरीमा खेत जोतिरहेको ट्याक्टरबाट लडेर भएको दुर्घटनामा दुई बालिकाको ज्यान गएको छ ।
मृत्यु हुनेमा महोत्तरीको मटिहानी नगरपालिका–४ मझौराकी ईमराईन राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिराहा नगरपालिका–११ मरडाकी सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुन रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार मटिहानी नगरपालिका–४ मझौरामा गरिब आलमको नाममा दर्ता रहेको ज १ त ९७८२ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा दुवै बालिका ट्याक्टरमै सवार थिए । सोही क्रममा उनीहरू अचानक ट्याक्टरबाट लड्दा गम्भीर चोट लागी घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र ट्याक्टर भने घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । मृतक बालिकाका शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

18 दिन पहिले    138 Post Views