धनुषा–३ मा जसपाको घरदैलो अभियान तीव्र, जित सुनिश्चित हुने दाबी

जनकपुरधाम,  माघ 29

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा जनता समाजवादी पार्टी (जसपा) ले घरदैलो अभियानलाई तीव्र बनाएको छ । राजनीतिक रूपमा प्रतिस्पर्धात्मक मानिँदै आएको यस क्षेत्रमा आफ्नो पक्षमा माहोल बन्दै गएको जसपाको दाबी छ ।


जसपाका उम्मेदवार परमेश्वर साह यतिबेला गाउँ–गाउँ र टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । घरदैलो अभियानका क्रममा उनले स्थानीय बासिन्दाका समस्या सुन्दै समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।


जसपा जनकपुरधामका नगर सचिव प्रशान्त झाले धनुषा–३ मा पार्टीको जित सुनिश्चित रहेको दाबी गरे । उनले भने, “जनताको उत्साह र समर्थन हेर्दा यसपटक धनुषा–३ मा छाता चुनाव चिन्हले जित हासिल गर्नेछ । ‘मन में छाता, मत में छाता’ भन्ने नारासहित हामी जनताको घरदैलोमा पुगेका छौँ ।”


उम्मेदवार साहले विकास, रोजगारी र सुशासनलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएको स्पष्ट पारे । उनले धनुषा–३ मा सडक, शिक्षा, स्वास्थ्य र सिँचाइका समस्या अझै जटिल रहेको उल्लेख गर्दै आधारभूत पूर्वाधार सुदृढीकरणलाई पहिलो प्राथमिकतामा राख्ने बताए ।
उनले स्थानीय तहसँग समन्वय गरी सडक विस्तार, गुणस्तरीय शिक्षा र स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि ठोस योजना अघि बढाइने प्रतिबद्धता जनाए ।

18 दिन पहिले    426 Post Views