धनुषा–३ मा रास्वपाको शक्ति प्रदर्शन, तीन सयभन्दा बढी युवा पार्टी प्रवेश
जनकपुरधाम, फागुन ५।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।
मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरधाममा आयोजना गरेको पार्टी प्रवेश तथा युवा प्रदर्शन कार्यक्रममा तीन सयभन्दा बढी युवाले पार्टीमा औपचारिक रूपमा आबद्धता जनाएका छन्।
कार्यक्रममा रास्वपाका उम्मेदवार तथा पार्टी प्रवक्ता मनिष झाको उपस्थितिमा युवाहरूले पार्टी प्रवेश गरेका हुन्। कार्यक्रमको सहजीकरण रास्वपा धनुषाका युवा नेता किशन साहले गरेका थिए।
पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमाले परित्याग गरेका सरोज यादव र सतिश सिंह प्रमुख रूपमा रहेका छन्। साथै युवा अगुवा आशुतोष साह (छोटु) र जावेद हुसेनले पनि रास्वपामा आबद्धता जनाएका छन्।
महिला नेतृत्वतर्फ विभिन्न मधेश केन्द्रित दलमा सक्रिय रहेकी तथा पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) त्यागेकी विन्दु ठाकुरले समेत कार्यक्रममा सहभागी हुँदै रास्वपामा प्रवेश गरेकी छन्।
रेल्वे स्टेसनबाट सुरु भएको युवाहरूको मार्चपाससहितको प्रदर्शन नगरका विभिन्न स्थान परिक्रमा गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघको सभा हलमा पुगेर कोणसभामा परिणत भएको थियो।
कार्यक्रममा उम्मेदवार झासँगै उनका चुनावी कमान्डर जितेन्द्र महासेठ, अम्भुप्रसाद साह तथा हालै रास्वपा प्रवेश गरेका डा. राजीव झा लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
सभा हलमा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा वक्ताहरूले धनुषा–३ मा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औंल्याउँदै युवाको सक्रिय सहभागिताले निर्वाचन परिणाममा सकारात्मक प्रभाव पार्ने दाबी गरेका छन्।
निर्वाचन मिति नजिकिँदै जाँदा धनुषा–३ मा दलहरूबीच प्रतिस्पर्धा थप तीव्र बन्दै गएको देखिन्छ।
13 दिन पहिले
  
354 Post Views


