संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसको बहुमत आवश्यक : विमलेन्द्र निधि

जनकपुरधाम, फागुन ६

। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको बहुमत अपरिहार्य रहेको बताएका छन्।
बुधबार जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले वर्तमान संविधान र लोकतान्त्रिक शासन व्यवस्था जोगाउन कांग्रेसको जित आवश्यक रहेको धारणा राखे।
निधिले सबै कांग्रेस कार्यकर्ता, समर्थक तथा आम जनतालाई एकताबद्ध भएर निर्वाचनमा सक्रिय हुन आह्वान गरे। उनले भने, “हाल देशमा जननिर्वाचित सरकार र संसद् छैन। निर्वाचनमार्फत जनप्रतिनिधि चुनी तीनै तहमा सरकार गठन गर्नु आवश्यक छ। लोकतन्त्र र वर्तमान शासन व्यवस्था जोगाउन कांग्रेसको बहुमत अनिवार्य छ।”
उनले संविधानसभामार्फत कांग्रेसको नेतृत्वमा निर्माण गरिएको वर्तमान संविधानले सबै नागरिकका अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै यसको सफल कार्यान्वयनका लागि पनि कांग्रेसको बहुमत जरुरी रहेको बताए।
कार्यक्रममा उनले पार्टी संगठन सुदृढीकरण, स्थानीय नेता–कार्यकर्तासँग प्रत्यक्ष संवाद तथा निर्वाचनमा व्यापक मतदान सुनिश्चित गर्ने रणनीतिबारे समेत छलफल गरे। एकताबद्ध प्रयासबाट मात्रै अपेक्षित सफलता हासिल गर्न सकिने उनले बताए।
प्रतिज्ञा सभामा मधेश प्रदेशका अन्य वरिष्ठ नेताहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा आगामी निर्वाचन रणनीति, विकास योजना तथा जनअधिकार केन्द्रित प्रतिज्ञापत्रबारे विस्तृत जानकारी गराइएको थियो।
निधिले कार्यकर्ता तथा समर्थकहरूलाई निर्वाचनसम्म सक्रिय रहँदै पार्टीलाई विजयी बनाउन र संविधान तथा लोकतन्त्रको रक्षा गर्न संगठित रूपमा लाग्न आग्रह गरे।

12 दिन पहिले    259 Post Views