जनकपुरधामको समग्र विकासका अधुरा योजना पूरा गर्ने जुली महतोको प्रतिबद्धता
जनकपुरधाम फागुन ७ ।
धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार जुलीकुमारी महतोले जनकपुरधामको धार्मिक, औद्योगिक तथा पूर्वाधार विकाससँग सम्बन्धित अधुरा योजनाहरू सम्पन्न गर्न मतदाताले आफूलाई पुनः विश्वास गर्ने दाबी गरेकी छन्।
जनकपुरधाम उपमहानगरपालिका–८ मा आयोजित घरदैलो अभियानका क्रममा उनले विगतमा सांसद रहँदा अघि सारेका योजनाहरूलाई निरन्तरता दिन चाहेको बताइन्। एमाले नेतृत्वको सरकारले आफ्नो नीति तथा कार्यक्रममा जनकपुरधामलाई ‘वैवाहिक गन्तव्य’ का रूपमा विकास गर्ने योजना समावेश गर्नुमा आफ्नै पहल रहेको उनको दाबी थियो।
महतोले जनकपुरधामलाई औद्योगिक केन्द्रका रूपमा विकास गर्दै भौतिक पूर्वाधार सुदृढ बनाउने कार्यमा आफू निरन्तर सक्रिय रहेको उल्लेख गरिन्। नगरभित्र वर्षौंदेखि अलपत्र अवस्थामा रहेका सडक तथा पुल निर्माण कार्य पछिल्लो समय आफ्नो प्रयासमा अघि बढेको उनले बताइन्।
उनले सीमावर्ती भिठामोड र जटही नाकाको विकास जनकपुरधामको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै ती क्षेत्रमा आवश्यक पूर्वाधार विस्तारका लागि निरन्तर पहल गरिरहेको जानकारी दिइन्। मतदाताले आफ्नो कामको मूल्यांकन गरेर आगामी दिनमा पनि साथ दिने विश्वास उनले व्यक्त गरिन्।
घरदैलो कार्यक्रमका क्रममा महतोले स्थानीय बासिन्दाका गुनासा र सुझाव सुन्दै विभिन्न जिज्ञासाको जवाफ दिएकी थिइन्। उनले जनकपुरधामको समग्र र दिगो विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याइन्।
11 दिन पहिले
  
75 Post Views


