• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

मोनाष्टिक इंगलिश बोर्डिङ स्कुलद्वारा एकदिने कला तथा साहित्य उत्सव सम्पन्न

  • 5 महीना पहिले

जनकपुरधाम, फागुन ७ ।
जनकपुरधामस्थित मोनाष्टिक इंगलिश बोर्डिङ स्कुलले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राख्दै एकदिने कला तथा साहित्य उत्सव आयोजना गरेको छ। कार्यक्रममार्फत विद्यार्थीहरूलाई पाठ्यपुस्तकभन्दा बाहिर आफ्नो सिर्जनात्मक क्षमता, भाषिक दक्षता र सांस्कृतिक चेतना प्रदर्शन गर्ने अवसर प्रदान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका म्यानेजिङ डाइरेक्टर डा. सोनु साहका अनुसार उत्सवमा कक्षा १ देखि कक्षा ७ सम्मका छात्रछात्राहरू उत्साहपूर्वक सहभागी भएका थिए।
उनले भने, “विद्यार्थीलाई केवल शैक्षिक पाठ्यक्रममा सीमित नराखी नेपाली र अंग्रेजी भाषामा आफ्नो कला तथा साहित्यिक प्रतिभा अभिव्यक्त गर्ने वातावरण सिर्जना गर्नु हाम्रो उद्देश्य हो। साथै स्थानीय भाषा मैथिली, कला र संस्कृतिप्रति उनीहरूमा आत्मीयता र समझ विकास गराउनु पनि यस कार्यक्रमको लक्ष्य हो।”
उत्सवका क्रममा विद्यार्थीहरूले मैथिली कला, परम्परागत पहिरन, स्थानीय परिकार, सांस्कृतिक परम्परा तथा साहित्यसँग सम्बन्धित विविध प्रस्तुति दिएका थिए। धार्मिक तथा पौराणिक विषयवस्तु समेटिएका प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
विद्यार्थीहरूले गौतम बुद्ध सँग सम्बन्धित प्रसंग, सीता–रामसँग जोडिएका ऐतिहासिक तथा धार्मिक स्थलहरू र अन्य सांस्कृतिक सम्पदाबारे सिर्जनात्मक प्रस्तुति दिएका थिए।
डा. साहले यस्ता कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक विकाससँगै मानसिक, सांस्कृतिक र सामाजिक पक्षलाई पनि सुदृढ बनाउने विश्वास व्यक्त गरे।
“किशोरकिशोरीमा घट्दै गएको पठन संस्कृति पुनर्जीवित गर्न र कुलतबाट जोगाउन यस्ता सिर्जनात्मक तथा सांस्कृतिक गतिविधि अत्यन्त प्रभावकारी हुन्छन्,” उनले बताए।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक, स्थानीय साहित्यिक व्यक्तित्व तथा अन्य अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अभिभावकहरूले विद्यार्थीहरूको प्रस्तुति सृजनात्मक, आत्मविश्वासपूर्ण र प्रभावशाली रहेको प्रतिक्रिया दिएका थिए।

5 महीना पहिले    247 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology