गौरमा झडपपछि कर्फ्यु जारी, सुरक्षा व्यवस्था कडा

रौतहट, फागुन ९

। जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु लागू गरिएको हो।
प्रशासनका अनुसार कर्फ्यु लागू भएका क्षेत्रमा सर्वसाधारणको आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ। आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनामा उल्लेख छ।
कर्फ्युको सीमा पूर्वतर्फ मुडवलवा गेट, पश्चिममा ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालय गेटसम्म निर्धारण गरिएको प्रशासनले जनाएको छ।
गौर नगरपालिका–६ सबगढामा दुई समुदायबीच पुनः झडप भएपछि अवस्था तनावग्रस्त बनेको हो। प्रशासनको पहलमा शुक्रबार साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भए पनि शनिबार बिहान करिब ९ बजेदेखि ढुङ्गामुढा सुरु भई स्थिति पुनः बिग्रिएको थियो।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनास्थलमा जिल्ला प्रहरी प्रमुख सिताराम रिजाल तथा सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारीसहित सुरक्षा अधिकारीहरू खटिएका छन्।
प्रशासनले सर्वसाधारणलाई संयमित रहन, अफवाहमा नलाग्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ। स्थिति सामान्य नहुँदासम्म कर्फ्यु कायम रहने जनाइएको छ।

9 दिन पहिले    103 Post Views