धनुषा ३ मा रास्वपाको प्रवेश लहर तीव्र, गंगुलीमा १२५ जना पार्टीमा आबद्ध

जनकपुरधाम फागुन ९ ।
फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको छ। धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा समेत दिनहुँ पार्टी प्रवेश कार्यक्रम सञ्चालन भइरहेको छ।
शनिबार धनुषा–३ अन्तर्गत नगराइन नगरपालिकाको गंगुलीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा १२५ जनाले विभिन्न दल परित्याग गरी रास्वपामा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई रास्वपाका प्रवक्ता तथा धनुषा–३ का उम्मेदवार मनिष झाले स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार झाले धनुषा–३ मा परिवर्तनको नारा गुञ्जिरहेको दाबी गरे। रास्वपाप्रतिको बढ्दो आकर्षणले परिवर्तनको आवाज अझ सशक्त बन्दै गएको उनको भनाइ थियो।
उनका अनुसार धनुषा–३ का मतदाता पुराना राजनीतिज्ञहरूप्रति आजित भइसकेकाले यसपटक परिवर्तनको पक्षमा उभिएका छन्। घरदैलो अभियानका क्रममा पनि मतदातामा रास्वपाप्रति सकारात्मक लहर देखिएको उनले उल्लेख गरे।
अघिल्ला निर्वाचित प्रतिनिधिहरूले मतदातालाई भोट बैंकका रूपमा मात्र प्रयोग गरेको आरोप लगाउँदै उनले यसपटक मतदाताले परिवर्तनको स्पष्ट सोच बनाइसकेको दाबी गरे। यही कारण रास्वपामा प्रवेश गर्नेहरूको लहर बढ्दो रहेको र यसलाई कुनै शक्तिले रोक्न नसक्ने उनले बताए।

9 दिन पहिले    271 Post Views