धनुषा–३ को अधुरा योजना पूरा गर्न पुनः अवसर चाहिन्छ : जुली कुमारी महतो
जनकपुरधाम फागुन ९ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल तातेका बेला नेकपा एमालेकी उम्मेदवार जुली कुमारी महतोले जनकपुरधामको समग्र विकासलाई निरन्तरता दिन मतदातासँग पुनः साथ मागेकी छन्। घरदैलो अभियानलाई तीव्र बनाउँदै उनले आफूले अघि सारेका योजना कार्यान्वयनका लागि जनताको समर्थन अपरिहार्य रहेको बताइन्।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ मा आयोजित घरदैलो कार्यक्रमका क्रममा महतोले प्रतिनिधिसभा सदस्य रहँदा सुरु गरिएका कतिपय विकास योजना कार्यकाल पूरा नहुँदै निर्वाचनमा जानुपरेकाले अधुरै रहेको उल्लेख गरिन्। ती योजनालाई पूर्णता दिन पुनः अवसर दिनुपर्ने उनको आग्रह थियो।
महतोले जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूले विशेष पहल गरेको दाबी गरिन्। एमाले नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा जनकपुरधामलाई ‘वैवाहिक गन्तव्य स्थल’का रूपमा विकास गर्ने अवधारणा आफ्नै पहलमा समावेश गरिएको उनले बताइन्। धार्मिक पर्यटन प्रवर्द्धनसँगै औद्योगिकीकरण र भौतिक पूर्वाधार विस्तारमा पनि आफू सक्रिय रहेको उनको भनाइ छ।
घरदैलोका क्रममा मतदाताका गुनासा र सुझाव सुन्दै उनले उठेका प्रश्नहरूको जवाफ दिएकी थिइन्। विकासका काममा आफ्नो सक्रियता देखेकाले मतदाताले आगामी निर्वाचनमा साथ दिने विश्वास उनले व्यक्त गरिन्।
महतोले नयाँ राजनीतिक दलहरूले स्पष्ट नीति र दृष्टिकोणबिना पुराना दलप्रति वितृष्णा फैलाउने प्रयास गरिरहेको आरोपसमेत लगाइन्। नेकपा एमाले संविधान रक्षा, राष्ट्रिय स्वाधीनता र विकासको एजेण्डामा अडिग रहेको उल्लेख गर्दै उनले मधेसको विकासका लागि एमाले नेतृत्वको सरकारले महत्वपूर्ण योजनाहरू अघि बढाएको दाबी गरिन्।
अन्त्यमा, धनुषा–३ का अधुरा विकास आयोजना सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको दोहोर्याउँदै उनले मतदातासँग सहयोगको अपिल गरिन्।
9 दिन पहिले
  
111 Post Views


