फेरि पनि जनताको विश्वास आफूलाई नै रहने दाबी– जुली महतो

जनकपुरधाम फागुन १०।
जुलीकुमारी महतोले यस पटकको निर्वाचनमा पनि धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का मतदाताले आफूलाई नै विश्वास गर्ने दाबी गरेकी छन्। नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार महतोले २०७९ को निर्वाचनमा मतदाताले दिएको विश्वास यस पटक पनि कायम रहने बताइन्।
आइतबार जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा आयोजित भेटघाट कार्यक्रममा स्थानीयले गरेको स्वागतप्रति आभार व्यक्त गर्दै उनले भनिन्, “अघिल्लो निर्वाचनमा यहाँका मतदाताले काम गर्ने अवसर दिनुभएको थियो। सोही अनुसार काम अघि बढिरहेको थियो, तर कार्यकाल पूरा हुन नपाउँदै फेरि निर्वाचनमा जानुपरेको छ।”
उनले सुरु गरिएका विकास योजनाहरू आफूले नै पूरा गर्ने विश्वास मतदातामा रहेको दाबी गरिन्। कार्यकाल छोटिएको कारण केही योजना अधुरा रहेको उल्लेख गर्दै आगामी अवसर पाए ती सबै योजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
महतोले केही नयाँ दलहरूले स्पष्ट नीति र भिजनबिना पुराना दलहरूप्रति मतदातामा वितृष्णा फैलाउने प्रयास गरिरहेको आरोप लगाइन्। उनले एमाले संविधान रक्षा र राष्ट्रिय स्वाधीनताको सवालमा निरन्तर संघर्षरत दल भएको उल्लेख गर्दै यसबारे मतदाता सचेत रहेको बताइन्।
एमाले नेतृत्वको सरकारले देशको विकास र समृद्धिको स्पष्ट दृष्टिकोण अघि सारेको उल्लेख गर्दै उनले मधेस प्रदेशको विकासमा रेल स्तरोन्नति, सुनकोशी–मरिन–कमला डाइभर्सन आयोजना तथा जनकपुरधामलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने योजना अघि बढाइएको स्मरण गराइन्। यी एजेन्डाहरूका आधारमा मतदाताले पुनः एमाले नेतृत्वकै सरकार चाहिरहेको उनको दाबी छ।

8 दिन पहिले    88 Post Views