• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

मधेश रूपान्तरण र जनकपुरधाम विकासमा निधिको स्पष्ट रोडम्याप

  • 5 महीना पहिले

जनकपुरधाम, फागुन ११

। प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै धनुषा क्षेत्र नम्बर–३ का उम्मेदवार विमलेन्द्र निधिले लोकतन्त्रको पुनःउत्थान, प्रदेश सुदृढीकरण र जनकपुरधाम केन्द्रित विकासलाई प्राथमिकतामा राख्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्।
प्रतिबद्धता पत्रमार्फत उनले मधेशको राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरणमा निर्णायक भूमिका खेल्ने दाबी गरेका छन्। विगतका वर्षमा कमजोर बनेको लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न प्रशासनिक प्रणाली सुधार, संविधानको प्रभावकारी कार्यान्वयन तथा प्रदेशलाई अधिकार सम्पन्न बनाउने योजना उनले अघि सारेका छन्। युवा सहभागिता र नेतृत्व सुदृढीकरणमार्फत मधेशको विकासलाई तीव्रता दिने उनको भनाइ छ।
जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित सरसफाइ, सौन्दर्यीकरण र आधुनिक पूर्वाधार विस्तारमा जोड दिइएको छ। जनकपुरधामलाई क्षेत्रीय पर्यटन हबका रूपमा स्थापित गर्दै धनुषाधाम, जलेश्वर र भारतको अयोध्यासँग धार्मिक–सांस्कृतिक सम्पर्क विस्तार गर्ने योजना पनि समेटिएको छ।
यातायात पूर्वाधारतर्फ डिजेलबाट सञ्चालन हुँदै आएको रेल सेवाको विद्युतीकरण, जनकपुरधाम–अयोध्या हवाई सेवा सञ्चालन तथा राजर्षि जनक विश्वविद्यालयको विस्तार र प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। खेलकुद पूर्वाधार सुदृढीकरणअन्तर्गत रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण तथा सञ्चालनलाई प्राथमिकतामा राखिएको छ।
युवालाई लक्षित गर्दै रोजगारी सिर्जना, लागुऔषध दुव्र्यसनमा परेका युवाका लागि सुधार केन्द्र स्थापना तथा महिला र बालबालिकाको स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि तीन–तीन वटा प्रसूति तथा बाल अस्पताल स्थापना गर्ने योजना अघि सारिएको छ।
खानेपानी समस्या समाधान, कृषि क्षेत्रमा सिँचाइ विस्तार तथा किसानलाई सहज आपूर्ति सुनिश्चित गर्न मल कारखाना सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। आर्थिक सुधारका लागि ऋण प्राप्तिको जटिल प्रक्रिया सरल बनाउने, आधुनिक प्रविधिमा आधारित प्रणाली लागू गर्ने, उद्योग–व्यवसाय दर्ता तथा कर प्रणाली सरलीकरण गर्ने र श्रमिकका लागि विश्रामस्थल निर्माण गर्ने योजना समेटिएको छ।
स्मार्ट सिटी, स्मार्ट भिलेज र स्मार्ट बस्ती विकास कार्यक्रममार्फत व्यवस्थित शहरीकरणलाई अगाडि बढाउने उल्लेख गरिएको छ। साथै पार्क, सांस्कृतिक स्तम्भ, विज्ञान प्रदर्शनी केन्द्र स्थापना तथा रंगभूमि (बाह्रविघा) स्तरोन्नति गर्ने योजना पनि प्रतिबद्धता पत्रमा राखिएको छ।
प्रदेश राजधानीलाई अधिकार सम्पन्न बनाउँदै स्थानीय तहसँग सहकार्यमा समग्र क्षेत्रको सर्वाङ्गीण विकास गर्ने आफ्नो लक्ष्य रहेको निधिले बताएका छन्। निर्वाचनपछि पनि जनतासँग निरन्तर सम्पर्क र संवादमा रहने प्रतिबद्धता जनाउँदै उनले विकास, सुशासन र स्थायित्वका एजेन्डामा अमूल्य मत दिन मतदातासँग आग्रह गरेका छन्।

5 महीना पहिले    479 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology