जनकपुरधाममा टिपरको ठक्करबाट ट्राफिक हवल्दारको ज्यान गयो
जनकपुरधाम, फागुन ११ जनकपुरधाममा टिपरको ठक्करबाट एक ट्राफिक प्रहरी हवल्दारको मृत्यु भएको छ।
दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत हवल्दार चन्द्रकला महतोको ज्यान गएको हो।
जनकपुरधाम उपमहानगरपालिका–४ मुरलीचोकस्थित सिटिजन बैंक अगाडि, भ्रमरपुरा चोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकल चालक महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए।
मृतक महतो बर्दिवास–पशुपतिनगर निवासी थिइन्। उनी सञ्चय कोषको रकम बुझ्न जनकपुरधाम आएकी थिइन्।
दुर्घटनामा संलग्न टिपर चालक र सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
7 दिन पहिले
  
59 Post Views


