धनुषा–३ मा जुलीकुमारी महतोको घरदैलो तीव्र, विकास र स्थायित्व मुख्य एजेण्डा

जनकपुरधाम फागुन ११

। प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषा–३ मा चुनावी माहोल तातेको छ। यसैक्रममा नेकपा (एमाले) की उम्मेदवार जुलीकुमारी महतोले घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष भेटघाट र संवाद बढाएकी छन्।
महतो दैनिक विभिन्न टोल–बस्तीमा पुगेर स्थानीय बासिन्दाका समस्या, गुनासा र अपेक्षा सुन्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरिरहेकी छन्। घरदैलो अभियानमा उनले विकास, पूर्वाधार विस्तार र राजनीतिक स्थायित्वलाई मुख्य एजेन्डाका रूपमा अघि सारेकी छन्।
अभियान अन्तर्गत उनी जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेकी थिइन्। स्थानीयले सडक, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता क्षेत्रीय प्राथमिकताबारे ध्यानाकर्षण गराएका थिए।
महतोले एमालेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ लक्ष्यलाई सार्थक बनाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै जनताको साथ र विश्वास आवश्यक रहेको बताइन्। आफू सधैं जनतासँगै रहेको दाबी गर्दै यसपटक मतदाताले अवसर दिने विश्वास व्यक्त गरिन्।
एमालेलाई मधेशविरोधी दलका रूपमा चित्रण गर्ने प्रयास भइरहेको टिप्पणी गर्दै उनले एमाले नेतृत्वको सरकारले मधेश प्रदेशमा सडक सञ्जाल विस्तार, शैक्षिक संरचना सुदृढीकरण र स्वास्थ्य पूर्वाधार विकासमा महत्वपूर्ण काम गरेको जिकिर गरिन्।
राष्ट्रिय विकास, राजनीतिक स्थायित्व र समृद्धिका लागि एमाले प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ सूर्य चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरिन्।

7 दिन पहिले    59 Post Views