विकास र समृद्धिको स्पष्ट योजना एमालेसँग मात्रै : जुलीकुमारी महतो
जनकपुरधाम, फागुन १२ । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुलीकुमारी महतोले विकास र समृद्धिका लागि स्पष्ट नीति तथा कार्यक्रम भएको दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मात्र रहेको बताएकी छन् ।
मंगलबार जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा आयोजित घरदैलो अभियानका क्रममा उनले एमालेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ नाराले नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको उल्लेख गरिन् । एमाले नेतृत्वमा मात्रै मुलुक आर्थिक तथा भौतिक विकासको स्पष्ट दिशातर्फ अघि बढ्ने उनको दाबी थियो ।
घरदैलो कार्यक्रमका क्रममा महतोले धनुषासहित समग्र मधेश प्रदेशको विकासका लागि एमालेसँग ठोस कार्ययोजना रहेको बताइन् । रेलमार्ग विस्तार, जनकपुरधामलाई वैवाहिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना तथा महेन्द्र राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने परियोजनाजस्ता कार्यक्रम एमालेकै पहलमा अघि बढेको उनले स्मरण गराइन् ।
उनले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा एमाले नेतृत्वमा विगतको तुलनामा उल्लेखनीय प्रगति भएको दाबी गर्दै आगामी दिनमा ती क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता जनाइन् ।
संविधान निर्माण, लोकतन्त्रको संस्थागत विकास तथा राष्ट्रिय स्वाभिमानको सवालमा एमालेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले राष्ट्रिय हितमा अडिग रहने दल एमाले मात्र भएको जिकिर गरिन् ।
घरदैलो अभियानका क्रममा स्थानीय मतदाताबाट सकारात्मक प्रतिक्रिया र सहयोग प्राप्त भइरहेको बताउँदै महतोले जनताको विश्वासले आफू उत्साहित भएको प्रतिक्रिया दिइन् ।
6 दिन पहिले
  
79 Post Views


