‘झुट प्रचारले जित रोकिँदैन’ – धनुषा–३ मा महतोको दाबी

जनकपुरधाम, फागुन १४

नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुलीकुमारी महतोले विपक्षी दलहरूसँग ठोस एजेण्डा नभएकाले आफ्नो विरुद्ध झुट प्रचार गरिएको आरोप लगाएकी छन् ।

बिहीबार जनकपुरधाम उपमहानगरपालिका–५ मा आयोजित घरदैलो अभियानका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले आफू प्रतिस्पर्धामा नरहेको भन्दै फैलाइएको हल्ला असत्य भएको बताइन् ।

मतदाताबाट प्राप्त माया, साथ र उत्साह देखेर विपक्षीले भ्रम फैलाउने प्रयास गरेको उनको भनाइ थियो ।

महतोले आफू प्रतिनिधिसभा सदस्यका रूपमा बिताएको तीन वर्षमा क्षेत्रका लागि विभिन्न योजना ल्याएको दाबी गर्दै ती योजनाहरूलाई पूर्णता दिन मतदातासँग पुनः मत मागिरहेको बताइन् ।

ती योजनाहरू सम्पन्न गर्न धनुषा–३ का मतदाता आफूलाई नै समर्थन गर्नेमा विश्वस्त रहेको उनले उल्लेख गरिन् ।

उनले एमालेको मुख्य एजेण्डा संविधानको रक्षा र राष्ट्रिय स्वाधीनता रहेको भन्दै आफ्नो चुनावी प्रतिबद्धता पनि सोही विषयमा केन्द्रित रहेको बताइन् ।

साथै, जनकपुरधामको विकासमा एमाले नेतृत्वको सरकारले गरेका कामबारे मतदाता स्पष्ट रहेको र त्यसले आफूलाई थप विश्वास मिलेको उनको दाबी थियो ।

घरदैलो अभियानकै क्रममा उम्मेदवार महतो बिहीबार धनुषा–३ अन्तर्गत पर्ने नगराइन क्षेत्र पुग्दा स्थानीयले स्वागत गरेको अभियान टोलीले जनाएको छ ।

4 दिन पहिले    61 Post Views