प्रेम सम्बन्ध विवादमा धनुषामा युवकको हत्या, तीन जना पक्राउ

जनकपुरधाम फागुन १५ ।

धनुषामा एक युवकको हत्या गरिएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत फागुन १४ गते बिहीबार अपरान्ह करिब ४ बजे औरही गाउँपालिका–६ चक्करस्थित सडकदेखि करिब ३ सय मिटर टाढा खेतमा एक पुरुष मृत अवस्थामा फेला परेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
अनुसन्धानका क्रममा मृतक हंसपुर नगरपालिका–९ रुदौली निवासी १८ वर्षीय सुमित मण्डल रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार फागुन १३ गते साँझ सुमित मण्डल हंसपुर नगरपालिका–६ सोनिगामामा बस्ने आफ्नी प्रेमिका १८ वर्षीया काजल मण्डललाई भेट्न गएका थिए। सो क्रममा काजलका आफन्त घरमा आएर दुवैलाई सँगै देखेपछि विवाद भएको बताइएको छ।
प्रहरीका अनुसार त्यसपछि २९ वर्षीय प्रमेश्वर मण्डल र २० वर्षीय दिपेश मण्डलले सुमितमाथि कुटपिट गरी हात बाँधी औरही–६ चक्करस्थित खेतमा लगेको र त्यहाँ धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक निष्कर्ष रहेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रमेश्वर मण्डल, दिपेश मण्डल र १८ वर्षीया काजल मण्डललाई प्रहरीले पक्राउ गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

2 दिन पहिले    77 Post Views