तरुलको माला र प्रशस्तिपत्रसहित रामअशिष यादव बने ‘महामूर्ख’

जनकपुरधाम, फागुन १७
होली पर्वको अवसरमा जनकपुरधाममा आयोजना गरिएको परम्परागत महामूर्ख सम्मेलनमा यस वर्ष मधेस प्रदेशका सभामुख रामअशिष यादवलाई ‘महामूर्ख’को उपाधि प्रदान गरिएको छ।
उपाधि ग्रहण गरेपछि सभामुख यादवको अनुहारमा अनौठो मुस्कान देखिएको थियो। उनलाई प्रशस्तिपत्र प्रदान गर्नुका साथै तरुलको माला लगाएर सम्मान गरिएको थियो।
सम्मेलनमा राकेश कर्णलाई ‘वैशाखानन्द’, विभा झालाई ‘तिलबिखनी’, विपिनकुमार झालाई ‘लबरसटका’, हिमांशु चौधरीलाई ‘जी हजुरी’, दिगम्बर झालाई ‘दिनमणि पोंगा पण्डित’, विश्वलाल सिंहलाई ‘पटमुर्ख’, अञ्जु पाण्डेलाई ‘मनतोरिया’, विजय राउतलाई ‘विषखोपरा’, प्रदीप चौधरीलाई ‘तरघुस्का’, पवन कर्णलाई ‘बज्रकिट’, पवन ठाकुर र विपिन पाठकलाई ‘डपोरशंख’, राजकुमारी मण्डललाई ‘तरघुस्की’, लव अधिकारीलाई ‘लोढाशंकर’ तथा संचारकर्मी दीपक कर्णलाई ‘लम्बोदर’ उपाधि प्रदान गर्दै सम्मान गरिएको थियो।
सम्मेलनमा सहभागी कविहरुले आ–आफ्ना कवितामार्फत समसामयिक विषयवस्तुमाथि व्यंग्यात्मक कटाक्ष गरेका थिए।
वि.सं. २०६१ सालदेखि सुरु भएको यस सम्मेलनमा विगतमा मैथिली कवि नरेश ठाकुर, तत्कालीन नेकपा एमाले नेता शीतल झा, तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल (२०६५), पूर्वमन्त्री रामचन्द्र झा, राजनीतिक विश्लेषक सीके लाल, साहित्यकार रामभरोष कापडी ‘भ्रमर’, नेपाली कांग्रेसका नेता रामसरोज यादव, डा. विजयकुमार सिंह, नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतो, आधुनिक स्वर्गद्वार निर्माणकर्ता पवन सिंघानिया, तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर लालकिशोर साह, मधेसका पूर्व मुख्यमन्त्री लालबाबु राउत, महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अर्थविद् डा. भोगेन्द्र झा, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, मधेसका पूर्व सभामुख रामचन्द्र मण्डल तथा मधेसका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहलाई ‘महामूर्ख’को उपाधि प्रदान गरिसकिएको छ।
यस कार्यक्रमले प्रत्येक वर्ष होलीको अवसरमा व्यंग्य, हास्य र सामाजिक सन्देश प्रवाह गर्दै आएको छ।

14 घन्टा पहिले    50 Post Views