‘काम गरेकै कारण जित्नुहुन्छ’— महोत्तरी–२ मा भण्डारीप्रति मतदाताको भरोसा
महोत्तरी फागुन १८ आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै महोत्तरी निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। अन्तिम चरणको घरदैलो अभियानअन्तर्गत उम्मेदवारहरू शक्ति प्रदर्शनसहित मतदातामाझ पुगेका छन्।
यसै क्रममा शरदसिंह भण्डारी (जसपा नेपाल) विभिन्न गाउँ–बस्तीमा घरदैलो गर्दै व्यस्त देखिनुभएको छ। शम्सिकन लगायतका क्षेत्रमा उहाँले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो एजेन्डा प्रस्तुत गर्नुभएको छ। घरदैलोका क्रममा स्थानीय बासिन्दाहरू उत्साहित देखिएका छन्।
क्षेत्रका मतदाताहरू भन्छन्, “उहाँ पटकपटक जित्नु र मन्त्री बन्नु नै जनविश्वासको प्रमाण हो। यदि जनता असन्तुष्ट हुन्थे भने किन बारम्बार जित्थे र किन मन्त्री बन्थे?” उनीहरूका अनुसार भण्डारीले विगतमा मन्त्री हुँदा क्षेत्रका लागि ठोस काम गरेर देखाएकै कारण यसपटक पनि जित्ने आधार बलियो रहेको छ।
स्थानीयहरूले सडक सञ्जाल विस्तार, दुर्गम गाउँसम्म सवारीसाधनको पहुँच, स्वास्थ्य संस्था स्थापना, अस्पताल र बर्थिङ सेन्टर सञ्चालन जस्ता पूर्वाधार विकासलाई उपलब्धिका रूपमा लिएका छन्। “पहिले गाडी नपुग्ने ठाउँमा अहिले सहजै सवारी चलिरहेको छ,” एक स्थानीयले बताए।
त्यस्तै, भण्डारी रक्षामन्त्री हुँदा नेपाली सेनामा मधेसी समुदायको सामूहिक प्रवेश हुनुपर्ने धारणा सार्वजनिक रूपमा राखेको विषयलाई पनि समर्थकहरूले स्मरण गरेका छन्। उनीहरूले उक्त अभिव्यक्तिका कारण पद गुमाउनुपरेको प्रसंग उल्लेख गर्दै त्यसलाई समावेशी प्रतिनिधित्वका पक्षमा लिएको अडानका रूपमा व्याख्या गरेका छन्। मतदाताहरूका अनुसार यही अडान र स्पष्ट राजनीतिक धार नै उहाँप्रति जनविश्वासको अर्को आधार हो।
यद्यपि यसपटक क्षेत्र नम्बर–२ मा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ। परिवर्तनको नारा उठाइरहेका अन्य उम्मेदवारहरू पनि चुनावी मैदानमा सक्रिय छन्। प्रतिस्पर्धा कडा भए पनि भण्डारी समर्थकहरू विकास, अनुभव र अडानकै आधारमा जनताले निरन्तरता दिने विश्वास व्यक्त गरिरहेका छन्।
13 घन्टा पहिले
  
133 Post Views


