अन्तरगृह परिक्रमासँगै मिथिला माध्यमिकी परिक्रमा सम्पन्न, जनकपुरधाममा लाखौं श्रद्धालुको सहभागिता

जनकपुरधाम, फागुन १९ ।
मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज तीर्थालुहरू जनकपुरधाममा अन्तरगृह परिक्रमा गरिरहेका छन्। ‘पञ्चकोसी’ भनेर चिनिने यस परिक्रमाअन्तर्गत जनकपुरधाम नगरको परिक्रमा गरिन्छ। धार्मिक विश्वासअनुसार अन्तरगृह परिक्रमामा सहभागी भए १५ दिने माध्यमिकी परिक्रमा सरह पुण्य फल प्राप्त हुने मान्यता रहेको छ।
सोही विश्वासका आधारमा अन्तरगृह परिक्रमामा लाखौं भक्तजन सहभागी भएका छन्। परिक्रमामा साधुसन्त, स्थानीयवासी तथा देश–विदेशबाट आएका श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको छ।
धनुषाको ठेरा कचुरीस्थित मिथिला बिहारी मठबाट निस्केको मिथिला बिहारीको डोला तथा जनकपुरधामस्थित सुन्दर सदनबाट निस्केको किशोरीजीको डोला नेपाल र भारतका विभिन्न धार्मिक स्थलको परिक्रमा गर्दै सोमबार जनकपुरधाम फर्केर विश्राम गरेका थिए।
परम्पराअनुसार हनुमानगढी बाट विधिवत् रूपमा सुरु भएको परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुनः भारतको बिहार अन्तर्गत करूणा र विशौल पुगेर जनकपुरधाम फर्किएको थियो।
अन्तरगृह परिक्रमा सम्पन्न भएसँगै मिथिलाको ‘महाकुम्भ’ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज विधिवत् रूपमा सम्पन्न हुँदैछ।
अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट यस क्षेत्रमा होली पर्व मनाउने परम्परा रहेको छ।

5 घन्टा पहिले    149 Post Views