सर्वोच्चले अन्तरिम आदेश नदिँदा धनुषा–१ मा मातृका यादवको जीत सुनिश्चित
जनकपुरधाम चैत १ ।
सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सच्याउन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतको उक्त निर्णयसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृका यादवको जीत सुनिश्चित भएको छ ।
न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले साहको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । उम्मेदवारी कायम गराउन माग गर्दै साहले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
निर्वाचन आयोगले बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको भन्दै कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको आधारमा फागुन १८ गते साहको उम्मेदवारी खारेज गरेको थियो । साहको स्वामित्वमा रहेको निर्माण कम्पनी कालोसूचीमा परेपछि आयोगले यस्तो निर्णय गरेको हो ।
यस निर्णयविरुद्ध साहले फागुन १९ गते सर्वोच्च अदालतमा पहिलो रिट दायर गरेका थिए । उक्त रिटमाथि फागुन २५ गते पहिलो सुनुवाइ भए पनि फागुन २९ गतेका लागि तोकिएको अर्को सुनुवाइ हुन सकेको थिएन ।
यसैबीच उनले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै फागुन २७ गते अर्को रिट पनि दायर गरेका थिए । न्यायाधीश शारंगा सुवेदीको इजलासले उक्त रिटमाथि सुनुवाइ गर्दै केन्द्रबाट प्राप्त पत्रमा साह कालोसूचीमा नदेखिएको भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।
तर आइतबार सर्वोच्च अदालतले उम्मेदवारी खारेजीसम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि साहको उम्मेदवारी खारेज नै कायम रहने भएको छ । यससँगै निर्वाचन आयोगले यसअघि घोषणा गरेअनुसार धनुषा–१ बाट नेकपाका उम्मेदवार मातृका यादव विजयी भएको परिणाम सुनिश्चित भएको छ ।
3 महीना पहिले
  
171 Post Views


