चैत्र नवरात्री शुरु, जनकपुरधामको राजदेवी मन्दिरमा भक्तजनको घुइँचो

जनकपुरधाम चैत ५ 

चैत्र शुक्ल प्रतिपदादेखि आजबाट चैत्र नवरात्री सुरु भएको छ। चैते दशैँका रूपमा चिनिने यस नवरात्रीमा माता दुर्गाका विभिन्न नौ स्वरूपको नौ दिनसम्म विशेष पूजा–उपासना गरिन्छ।
आश्विन शुक्ल पक्षमा पर्ने बडादशैँजत्तिकै भव्य नभए पनि चैते दशैँमा देशभरका शक्तिपीठहरूमा भक्तजनको भीड लाग्ने गर्छ। यसै क्रममा जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा नवरात्री पूजाको आयोजना गरिएको छ।
नवरात्री सुरु भएसँगै राजदेवी मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ। वैदिक सनातन धर्मावलम्बीहरूले घरघरमा शक्तिको उपासना गर्दै देवीको पूजा–अर्चना गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती (चण्डी), देवी स्तोत्रलगायतका धार्मिक ग्रन्थहरूको पाठ गर्ने परम्परा छ।
राजदेवी मन्दिरका मूल पुजारी गणेश झाले असोज महिनाको नवरात्रीजस्तो विधि नअपनाइए पनि यहाँ भव्य रूपमा पूजा–अर्चना हुँदै आएको बताउनुभयो।
चैत्र नवरात्रीअन्तर्गत आज माता दुर्गाको पहिलो स्वरूप शैलपुत्री माताको पूजा–अर्चना गरिँदैछ।

3 महीना पहिले    204 Post Views