जनकपुरधाममा २ अर्बको पाँचतारे होटल निर्माण सुरु, तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य
जनकपुरधाम वैशाख २१ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। करिब २ अर्ब रुपैयाँ लागतमा निर्माण हुन लागेको १२४ कोठा क्षमताको आधुनिक होटलका लागि सोमबार भूमि पूजन गरिएको हो।
मिथिला हस्पिटालिटी प्रालिद्वारा जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलियामा निर्माण हुन लागेको उक्त परियोजना तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यस परियोजनाले जनकपुरधामलाई धार्मिक केन्द्रसँगै ‘वेडिङ डेस्टिनेसन’ का रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
कम्पनीका अध्यक्ष रामेश्वर साहका अनुसार निर्माण कार्य अब तीव्र गतिमा अगाडि बढाइनेछ। होटलमा अन्तर्राष्ट्रियस्तरका सुविधा, आधुनिक सेवा तथा ठूलो क्षमताका सम्मेलन र विवाह समारोहका लागि विशेष हल रहनेछ।
परियोजनामा ऊर्जा व्यवसायी काजी लामा, व्यवसायी सुदीप चौधरी, ऊर्जाविद् उदयकान्त झा तथा ज्ञानेन्द्र ढुङ्गाना लगायतको संयुक्त लगानी रहने जनाइएको छ।
भूमि पूजन कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यस्तो परियोजनालाई प्रदेशकै गौरवसँग जोडेर हेर्नुपर्ने बताए। उनले निजी क्षेत्रको लगानीले आर्थिक गतिविधि बढाउनुका साथै रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास व्यक्त गरे।
धनुषा–३ का प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधाममा पहिलो पाँचतारे होटल निर्माण हुनु सकारात्मक कदम भएको उल्लेख गर्दै लगानीकर्तालाई विकासका साझेदारका रूपमा लिनुपर्ने धारणा राखे। उनले धार्मिक पर्यटन प्रवर्द्धनका लागि बुद्ध एयरमार्फत जनकपुर–अयोध्या उडानको तयारी भइरहेको जानकारी पनि दिए।
यसैगरी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले शहरलाई व्यवस्थित, आकर्षक र लगानीमैत्री बनाउने योजनाअनुसार पूर्वाधार विकास र सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिइएको बताए।
प्रख्यात उद्योगपति उपेन्द्र महतोले जनकपुरधामको सांस्कृतिक तथा धार्मिक महत्त्व अद्वितीय रहेको उल्लेख गर्दै यस्ता परियोजनाले यसको अन्तर्राष्ट्रिय पहिचान अझ मजबुत बनाउने धारणा व्यक्त गरे।
पर्यटन, होटल तथा सेवा क्षेत्रमा ठूलो लगानी भित्र्याउने उद्देश्यसहित अघि बढाइएको यस परियोजनाले जनकपुरधामलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। साथै, यसबाट स्थानीय अर्थतन्त्र सुदृढ हुनुका साथै सयौँको संख्यामा रोजगारी सिर्जना हुने विश्वास गरिएको छ
1 महीना पहिले
  
166 Post Views


