जनकपुरधाममा ‘मिस मिथिला’ सौन्दर्य प्रतियोगिता, मौलिक संस्कृति प्रवर्द्धनमा जोड


 
जनकपुरधाम वैशाख २१ ।
मिथिलाको कला, संस्कृति र परम्परागत सौन्दर्यलाई व्यापक रूपमा उजागर गर्ने उद्देश्यसहित ‘मिस मिथिला नारी सौन्दर्य प्रतियोगिता’ आयोजना हुने भएको छ। यसको औपचारिक घोषणा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो।
काठमाडौंस्थित थर्ड आइ स्टुडियो प्रा.लि.ले आयोजना गर्न लागेको यस प्रतियोगिताले मिथिलाको मौलिक पहिचानलाई आधुनिक मञ्चमार्फत प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
कार्यक्रमका संयोजक हरिस जैसवालका अनुसार प्रतियोगिता केवल बाह्य सौन्दर्यमा सीमित नरही मिथिलाको सांस्कृतिक प्रतिनिधित्व गर्ने अभियानका रूपमा अघि बढाइएको हो। सहभागी युवतीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा दीर्घकालीन करियर निर्माणमा विशेष ध्यान दिइने उनले बताए।
प्रतियोगिताको अडिशन जेठ १६ गते जनकपुरधाम र जेठ २३ गते काठमाडौंमा सञ्चालन हुनेछ भने फाइनल असार २७ गते काठमाडौंमा आयोजना गरिनेछ। सहभागी हुन इच्छुकले इसेवामार्फत १०० रुपैयाँ शुल्क तिरेर अनलाइन फारम भर्न सक्ने व्यवस्था गरिएको छ।
आयोजकका अनुसार प्रतियोगितामा परम्परागत पहिरनलाई विशेष प्राथमिकता दिइएको छ। सहभागीहरूले साडी र कुर्ता–सुरुवाल मात्र लगाउनुपर्नेछ भने वेस्टर्न ड्रेसलाई पूर्ण रूपमा निषेध गरिएको छ। यसले मिथिलाको मौलिक पहिरनको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।
प्रतियोगितामा प्रथम हुने विजेतालाई स्कुटी पुरस्कार प्रदान गरिनेछ भने द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई नगद पुरस्कार दिइनेछ। साथै, उत्कृष्ट प्रतिभालाई विभिन्न राष्ट्रिय परियोजनामा सहभागी गराउँदै उनीहरूको करियर विकासमा सहयोग गर्ने योजना रहेको आयोजकले जनाएको छ।
संयोजक जैसवालले यो कार्यक्रम केवल प्रतिस्पर्धा नभई प्रतिभाशाली युवतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने दीर्घकालीन प्लेटफर्म निर्माण गर्ने लक्ष्यसहित सञ्चालन गरिन लागेको बताए।

1 महीना पहिले    144 Post Views