जनकपुर साहित्य महोत्सव सुरु, मिथिला संस्कृति र सभ्यतामाथि बहस

 

जनकपुरधाम जेठ १ गते
जनकपुर साहित्य महोत्सव को सातौँ संस्करण जनकपुरधाम मा सुरु भएको छ । मिथिला सभ्यता, संस्कृति र साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित तीनदिने महोत्सव जेठ १, २ र ३ गतेसम्म सञ्चालन हुनेछ ।
‘धरातल, संस्कृति र संस्कारको उत्सव’ भन्ने मूल नारासहित सुरु भएको महोत्सवमा साहित्यिक विमर्शसँगै सामाजिक, आर्थिक तथा राजनीतिक विषयमा बहस र छलफल गरिने आयोजकले जनाएको छ ।
महोत्सव उद्घाटन गर्दै डा. सुरेन्द्र लाभ ले शास्त्रार्थको उद्गमस्थल जनकपुरधामले आफ्नो ऐतिहासिक वैभव पुनः फर्काउने समय आएको बताए । उनले जनकपुरधाम केवल भूगोल नभई संस्कार, संस्कृति र ज्ञानको भूमि रहेको उल्लेख गर्दै यस्ता महोत्सवले मिथिलाको पहिचान जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
उनले विद्यार्थीबीच हुने वक्तृत्वकला प्रतियोगितामा राजर्षि जनकको दरबारमा हुने शास्त्रार्थ शैली अपनाउन सुझाव दिँदै यसले मिथिलाको इतिहास, संस्कृति र सभ्यताको जागरणमा योगदान पुग्ने बताए ।
त्यसैगरी मनिष झा ले आफूलाई जन्म दिने माटोका लागि के योगदान गर्न सकिन्छ भन्ने विषयमा सबैले सोच्नुपर्ने बताए । समाजलाई सिर्जनात्मक कार्यक्रममार्फत केही फर्काउन आवश्यक रहेको उनको भनाइ थियो ।
भारतीय महावाणिज्य दूतावास वीरगञ्ज का महावाणिज्यदूत देवी सहाय मिणा ले साहित्य, संस्कृति, इतिहास र शिक्षामाथिको विमर्शले समाजलाई नयाँ दिशा दिने भएकाले यस्ता महोत्सव महत्वपूर्ण हुने बताए । उनले नेपाल–भारतबीचको सांस्कृतिक समानताले दुई देशको सम्बन्ध अझ मजबुत बनाएको उल्लेख गरे ।
उद्घाटन सत्रका प्रमुख वक्ता उपेन्द्र महतो ले २१औँ शताब्दी अर्थतन्त्रको युग भएकाले नेपाललाई समृद्ध बनाउने दिशामा सबै लाग्नुपर्ने बताए । गरिबीले समाजमा विभाजन र असन्तोष बढाउने भएकाले समृद्ध नेपाल निर्माण साझा लक्ष्य हुनुपर्ने उनको भनाइ थियो ।
महोत्सवका क्रममा क्यान्सरसँग संघर्षरत मैथिली साहित्यकार अशोक दत्त लाई १ लाख ५ हजार रुपैयाँ राशिको ‘अमित झा स्मृति पुरस्कार’ प्रदान गरिएको थियो । साथै मैथिलीका चर्चित नाटककार महेन्द्र मलंगिया लाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ ।

20 दिन पहिले    111 Post Views