जिरो माइल फलफूल बजार खाली गराउँदा व्यवसायी असन्तुष्ट, वैकल्पिक व्यवस्था र समय दिन माग
जनकपुरधाम जेष्ठ १९ । जनकपुरधामस्थित जिरो माइलमा रहेको फलफूल बजार खाली गराउने क्रममा व्यवसायीहरूले प्रशासनको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। जनकपुरधाम फलफूल तथा तरकारी व्यवसायी संघले उच्च अदालत जनकपुरको आदेशलाई सम्मान गर्दै बजार खाली गर्ने प्रक्रिया स्वेच्छिक रूपमा अघि बढाइसकेको जनाएको छ।
व्यवसायीहरूले हाल आँपको मुख्य सिजन चलिरहेकाले साउन महिनासम्मका लागि समय उपलब्ध गराउन आग्रह गरे पनि सम्बन्धित निकायबाट आवश्यक सहयोग नपाएको गुनासो गरेका छन्।
फलफूल व्यवसायी महासंघका महासचिव भुवनेश्वर पूर्वेले अदालतको आदेशको सम्मान गर्दै व्यवसायीहरू स्थान खाली गर्न तयार रहेको बताउँदै आँपको सिजन समाप्त नभएसम्म केही समय मात्रै माग गरिएको उल्लेख गर्नुभयो। तर, उक्त मागप्रति कुनै निकायले सकारात्मक पहल नगरेको उहाँको आरोप छ।
यता जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले करोडौँ रुपैयाँ राजस्व बुझाउने फलफूल व्यवसायीहरूलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित गर्नु उचित नहुने बताउनुभयो। उहाँले जनकपुरधाम उपमहानगरपालिकासँग समन्वय गरी व्यवसायीहरूका लागि जग्गा व्यवस्थापनको प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो।
अध्यक्ष भण्डारीका अनुसार व्यवसायीहरूलाई स्थानान्तरण गर्न आवश्यक जग्गाको करार प्रक्रिया बाँकी रहेकाले केही समय लागेको हो। वैकल्पिक व्यवस्थापन नहुँदासम्म व्यवसायीहरूलाई समस्यामा पार्ने कदम उचित नहुने उहाँको धारणा छ।
फलफूल तथा तरकारी व्यवसाय कृषि क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको सेवा तथा वितरण क्षेत्र भएकाले सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने व्यवसायीहरूको माग छ। थोक व्यवसायीहरूका लागि उपयुक्त बजार वा वैकल्पिक स्थानको व्यवस्था नहुँदा उनीहरू समस्यामा परेको तथा पछिल्लो घटनाले थप अन्यायको अनुभूति गराएको व्यवसायीहरूको भनाइ छ।
3 दिन पहिले
  
82 Post Views


