झुठा मुद्दाबाट सफाइ पाएपछि एमाले नेता शिवशंकर साह हिरा भन्छन्– ‘अब कसैसँग प्रतिशोध लिन्न’

जनकपुरधाम जेठ २८।
नेकपा (एमाले) मधेस प्रदेश कमिटी सदस्य शिवशंकर साह ‘हिरा’ले आफूविरुद्ध झुठा मुद्दा लगाएर चरित्र हत्या गर्ने प्रयास गरिए पनि कसैविरुद्ध प्रतिशोध नलिने बताएका छन्।
बालिका अपहरण तथा जबर्जस्ती करणी मुद्दामा अदालतबाट सफाइ पाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले हुँदै नभएको घटनालाई अतिरञ्जित गरी आफ्नो राजनीतिक तथा सामाजिक छवि धुमिल पार्न खोजिएको आरोप लगाए। उनले भने, “ममाथि झुठा आरोप लगाउनेहरूलाई माता जानकी र यहाँको नागरिक समाजले नै उचित जवाफ दिनेछन्।”
हिराले आफ्नो राजनीतिक यात्रालाई समाप्त पार्ने उद्देश्यले केही व्यक्तिहरूले योजनाबद्ध रूपमा षड्यन्त्र रचेको दाबी गरे। यद्यपि, षड्यन्त्रमा संलग्न व्यक्तिहरूको नाम भने उनले सार्वजनिक गर्न चाहेनन्।
उनले नेपालको न्याय प्रणालीप्रति विश्वास व्यक्त गर्दै अदालतको निर्णयप्रति सन्तुष्टि जनाए। “मलाई नेपालको न्यायालयमाथि पूर्ण विश्वास थियो। अदालतले न्याय गरेको छ र म त्यसबाट सन्तुष्ट छु। अब म कसैविरुद्ध प्रतिशोध साँध्ने पक्षमा छैन,” उनले भने।
हिराका अनुसार मुद्दासम्बन्धी सुनुवाइका क्रममा पीडितले नै आफूविरुद्ध कुनै अपहरण वा बलात्कारको घटना नभएको बयान दिएकी थिइन्। अदालतले सम्पूर्ण तथ्य र प्रमाणको मूल्याङ्कन गरी निर्णय गरेको उनले बताए।
जिल्ला अदालत धनुषाले उक्त घटनामा अभियुक्त बनाइएका सबै व्यक्तिहरूलाई दोषी नरहेको ठहर गर्दै सफाइ दिएको थियो। अदालतले शिवशंकर साह हिरासहित अमित ठाकुर, संजय महासेठ, मनोज साह, रामकुमार साह र रामबाबु झामाथि लगाइएको बालिका अपहरण तथा जबर्जस्ती करणीसम्बन्धी अभियोगबाट सफाइ दिएको हो।

4 दिन पहिले    115 Post Views