कांग्रेसभित्रको विभाजन अन्त्य गरी १५औँ महाधिवेशनमा जुट्न निधिको आह्वान
जनकपुरधाम जेष्ठ ३० गते ।
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र देखिएको विभाजन अन्त्य गरी एकताबद्ध रूपमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन्। उनले विशेष महाधिवेशन पक्षधर र १४औँ महाधिवेशन पक्षधरबीचको मतभेदले कांग्रेस कमजोर बनेको उल्लेख गर्दै पार्टीलाई सुदृढ बनाउन सबै पक्षबीच एकता आवश्यक रहेको बताए।
नेपाली कांग्रेसको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै निधिले निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचनसँग सम्बन्धित गतिविधिबाहेक अन्य कार्यक्रम नगर्नुपर्ने भए पनि त्यसको बेवास्ता गर्दै विशेष महाधिवेशन गरिएकाले पार्टीभित्र विवाद र विभाजन बढेको दाबी गरे।
‘गत फागुन २१ गते निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा निर्वाचन केन्द्रित गतिविधि मात्र हुनुपर्थ्यो। तर विशेष महाधिवेशन गरिएपछि पार्टीभित्र अनावश्यक विवाद सिर्जना भयो र कांग्रेस कमजोर बन्न पुग्यो,’ निधिले भने।
उनले अहिलेको परिस्थितिमा दुवै पक्षबीचको दूरी अन्त्य गरी साझा रूपमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए। कांग्रेसलाई पुनः बलियो, एकताबद्ध र जनमुखी बनाउन सहमति, सहकार्य र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनुपर्ने उनको भनाइ थियो।
निधिले वर्तमान पार्टी नेतृत्वप्रति पनि असन्तुष्टि व्यक्त गर्दै सभापतिले प्रतिशोध र दुराशयका आधारमा पार्टी सञ्चालन गरिरहेको आरोप लगाए। ‘प्रतिशोध र दुराशयका आधारमा पार्टी सञ्चालन हुन सक्दैन। कांग्रेसभित्र एकलौटी ढंगले पार्टी चलाउने प्रयास स्वीकार्य छैन,’ उनले भने।
उनले कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक मूल्य–मान्यता तथा जनताले प्राप्त गरेका अधिकारसमेत कमजोर हुने उल्लेख गर्दै पार्टीभित्रको एकतालाई आजको प्रमुख आवश्यकता भएको बताए।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री उमाकान्त चौधरीले चुनावको मुखमा विशेष महाधिवेशन गरिनु पार्टीको वर्तमान अवस्थाको मुख्य कारण भएको बताए। उनले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी विशेष महाधिवेशन पक्षधरहरूले लिनुपर्ने धारणा राखे।
यद्यपि, चौधरीले पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्दै सबै पक्षबीच एकता कायम गर्नुपर्नेमा जोड दिए। ‘कांग्रेसभित्रको आन्तरिक विवाद अन्त्य गरेर पार्टीलाई पुनः एक ढिक्का बनाउनुपर्छ,’ उनले भने।
भेलामा कांग्रेस नेता आनन्दप्रसाद ढुंगाना, पूर्व केन्द्रीय सदस्य मोहन बस्नेत, मधेस प्रदेशका आठवटै जिल्लाका जिल्ला सभापति, क्षेत्रीय सभापति तथा ठूलो संख्यामा नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रममा अधिकांश वक्ताहरूले पार्टीभित्रको विवाद समाधान गर्दै संगठन सुदृढ बनाउनुपर्ने, आगामी महाधिवेशन सहमतिपूर्ण वातावरणमा सम्पन्न गर्नुपर्ने तथा कांग्रेसलाई पुनः जनविश्वासको केन्द्र बनाउन एकताबद्ध प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
2 दिन पहिले
  
85 Post Views


