मोनाष्टिक स्कुलका प्रबन्धक डा. सोनु साहलाई गुगलको अन्तर्राष्ट्रिय सम्मान
जनकपुरधाम, जेठ ३१। मोनाष्टिक स्कुलका प्रबन्धक डा. सोनु कुमार साह प्रतिष्ठित ‘गुगल फर एजुकेशन सर्टिफाइड इनोभेटर’ कार्यक्रममा छनोट भएका छन्। यस उपलब्धिसँगै उनले नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा नवप्रवर्तनको मञ्चमा प्रतिनिधित्व गरेका छन्।
स्विडेनको राजधानी स्टकहोमस्थित गुगल स्विडेनमा आयोजित ‘इनोभेटर एकेडेमी’मा सहभागी भएका डा. साहले विश्वका विभिन्न देशका शिक्षाविद्हरूसँग सहकार्य, सिकाइ तथा अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त गरेका छन्।
कार्यक्रममा शिक्षा क्षेत्रमा नवप्रवर्तनलाई व्यवहारमा उतार्ने उद्देश्यका साथ ‘डिजाइन थिंकिङ’, ‘प्रोटोटाइप निर्माण’ तथा कक्षाकोठामा देखिएका वास्तविक समस्याको व्यावहारिक समाधान विकाससम्बन्धी प्रशिक्षण र छलफल गरिएको थियो। सहभागीहरूले शिक्षा प्रणालीलाई थप प्रभावकारी, समावेशी र प्रविधिमैत्री बनाउने सीप तथा अवधारणाबारे गहन अध्ययन गरेका थिए।
डा. साहले यो उपलब्धिलाई आफ्नो शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसले शिक्षा क्षेत्रमा नवीन सोच, सिर्जनशीलता तथा प्रविधिको प्रभावकारी प्रयोगलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
उनका अनुसार शिक्षा क्षेत्रमा नवप्रवर्तन भनेको केवल आधुनिक प्रविधिको प्रयोग मात्र होइन, विद्यार्थीका लागि नयाँ अवसर सिर्जना गर्नु, उनीहरूको क्षमता अभिवृद्धि गर्नु तथा प्रत्येक विद्यार्थीलाई आफ्नो सम्भावनाको उच्चतम उपयोग गर्न सक्षम बनाउनु पनि हो।
कार्यक्रमबाट प्राप्त ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय सञ्जालले आगामी दिनमा विद्यार्थी, शिक्षक तथा विद्यालयहरूको विकासका लागि नवप्रवर्तन र उद्यमशीलतामार्फत अझ प्रभावकारी रूपमा काम गर्न प्रेरणा मिलेको उनले बताए।
नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन पाएको अवसरप्रति आभार व्यक्त गर्दै डा. साहले कार्यक्रम सफल बनाउन सहयोग पुर्याएको गुगल स्विडेन टोली तथा क्यानोपी एजुकेशनलाई विशेष धन्यवाद दिएका छन्।
शिक्षामा प्रविधिको प्रयोग, नवप्रवर्तन र सिर्जनशील अभ्यासलाई निरन्तर प्रोत्साहन गर्दै आएका डा. साहको यो उपलब्धिलाई नेपाली शिक्षा क्षेत्रका लागि गौरवको विषयका रूपमा हेरिएको छ।
1 दिन पहिले
  
267 Post Views


