चालु आर्थिक वर्षको मधेसको आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत
जनकपुरधाम जेष्ठ ३१ गते ।
मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत गरेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुअघि आइतबार प्रदेशका अर्थमन्त्री युवराज भट्टराई ले आर्थिक सर्वेक्षण पेश गरेका हुन्।
आर्थिक सर्वेक्षणअनुसार मधेस प्रदेशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ८ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ, जुन राष्ट्रिय कुल ग्राहस्थ उत्पादनको १३.१ प्रतिशत हिस्सा हो।
सर्वेक्षणमा प्रदेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। मधेस प्रदेशको कुल ग्राहस्थ उत्पादनमा कृषि, मत्स्य तथा वन क्षेत्रको योगदान सबैभन्दा बढी ३४.९७ प्रतिशत रहने उल्लेख गरिएको छ। यस क्षेत्रको वृद्धिदर १.४४ प्रतिशत रहने अनुमान छ।
कृषि उत्पादनतर्फ अन्नबाली उत्पादन ५.३३ प्रतिशतले घट्ने अनुमान गरिएको भए पनि अन्य कृषि तथा पशुपन्छीजन्य उत्पादनमा सकारात्मक वृद्धि हुने देखिएको छ। सर्वेक्षणअनुसार दूध उत्पादन ११.०६ प्रतिशत, मासु उत्पादन ३३.५२ प्रतिशत, माछा उत्पादन ८.०३ प्रतिशत तथा अण्डा उत्पादन २३.४६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।
यद्यपि प्रदेशको राजस्व संकलनमा भने गिरावट आउने संकेत देखिएको छ। आर्थिक सर्वेक्षणले राजस्व संकलनको अनुपात १.६६ प्रतिशतले घट्ने अनुमान गरेको छ।
सर्वेक्षणले कृषि तथा पशुपन्छीजन्य उत्पादनमा सुधारको संकेत गरे पनि राजस्व संकलन र समग्र आर्थिक वृद्धिदर अपेक्षाकृत कमजोर रहने देखाएको छ। प्रदेश सरकारले आगामी बजेटमार्फत आर्थिक गतिविधि विस्तार, उत्पादन वृद्धि तथा राजस्व सुदृढीकरणमा विशेष ध्यान दिने अपेक्षा गरिएको छ।
1 महीना पहिले
  
131 Post Views