शीर्षक : ४१ अर्ब १३ करोडको बजेट ल्यायो मधेस सरकार, पूर्वाधार विकासमा जोड
जनकपुरधाम, असार १ ।
मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले चालु खर्चतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ अर्थात् ३५.६४ प्रतिशत र पुँजीगत खर्चतर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ अर्थात् ६४.३६ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिए।
बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ, संघीय सरकारको राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड रुपैयाँ, वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ तथा बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ व्यवस्थापन गरिने भएको छ। स्रोतमा अपुग हुने १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणमार्फत पूर्ति गरिने जनाइएको छ।
त्यसैगरी आगामी आर्थिक वर्षमा संघीय सरकारबाट समानीकरण अनुदानतर्फ ७ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ८ अर्ब १० करोड २८ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ ९४ करोड ७४ लाख रुपैयाँ तथा विशेष अनुदानतर्फ ७० करोड रुपैयाँ गरी कुल १७ अर्ब ५९ करोड २७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
प्रदेश सरकारले पूर्वाधार विकास, आर्थिक गतिविधिको विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ।
1 महीना पहिले
  
172 Post Views