मलङ्गवामा ३२ लाख रुपैयाँसहित दुई युवक पक्राउ, हुण्डी कारोबारको आशंका
सर्लाही, असार ५
सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार साँझ करिब ४ बजे मलङ्गवा नगरपालिका–१० स्थित झिम पुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुईवटा मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरिएको हो।
प्रहरीले भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमा सवार व्यक्तिहरूको साथबाट स्रोत खुल्न नसकेको नगद ३२ लाख रुपैयाँ फेला पारेको जनाएको छ। साथै दुईवटा मोटरसाइकल र दुई थान मोबाइल फोनसमेत नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेमा रामनगर गाउँपालिका–३ का २८ वर्षीय गुड्डु कुमार यादव र रामनगर गाउँपालिका–१ का २४ वर्षीय रेशम कुमार यादव रहेका छन्।
प्रहरीका अनुसार बरामद नगद, मोटरसाइकल तथा मोबाइल फोनसहित दुवै जनालाई नियन्त्रणमा राखी हुण्डी कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
बरामद सामग्रीमा स्रोत नखुलेको ३२ लाख रुपैयाँ, भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकल तथा ओप्पो र सामसुङ कम्पनीका दुई थान मोबाइल फोन रहेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
1 महीना पहिले
  
154 Post Views