सिया मेडिकेयरमा स्वास्थ्य सेवा विस्तार, इमरजेन्सीदेखि आईसीयू–एनआईसीयूसम्म सुविधा
जनकपुरधाम, साउन २४ गते । जनकपुरधामस्थित सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आकस्मिक उपचारदेखि शल्यक्रिया, ट्रमा, प्रसूति तथा सघन उपचारसम्मका सेवा सञ्चालनमा ल्याएको छ।
अस्पतालका सञ्चालक राजीव झाका अनुसार अहिले अस्पतालमा आठ शय्याको आकस्मिक कक्षसहित सर्जरी, ट्रमा, प्रसूति, आईसीयू र एनआईसीयू सेवा उपलब्ध छन्। यसअघि अस्पतालबाट ओपीडी, अल्ट्रासाउन्ड तथा प्रयोगशाला सेवा सञ्चालन हुँदै आएको थियो।
नयाँ सेवा थपिएसँगै आकस्मिक अवस्थामा तत्काल उपचार आवश्यक पर्ने बिरामी, शल्यक्रिया तथा प्रसूति सेवा लिनुपर्नेहरूका साथै सघन उपचार आवश्यक पर्ने बिरामीलाई जनकपुरधाममै उपचारको सुविधा उपलब्ध गराउने लक्ष्य अस्पतालले लिएको छ।
सञ्चालक झाका अनुसार अस्पतालले आगामी दिनमा डायलाइसिस तथा न्युरो ट्रमासहित थप विशेषज्ञ सेवा विस्तार गर्ने तयारीसमेत गरेको छ। जटिल अवस्थाका बिरामीलाई उपचारका लागि अन्य शहरमा रेफर गर्नुपर्ने अवस्थालाई घटाउने उद्देश्यले अस्पतालले सेवा तथा भौतिक पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको जनाएको छ।
“जनकपुरधाममै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराएर बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था कम गर्नु हाम्रो मुख्य उद्देश्य हो,” सञ्चालक झाले बताए।
अस्पतालमा थप स्वास्थ्य सेवा सञ्चालनमा आएपछि जनकपुरधामसँगै आसपासका क्षेत्रका बिरामीलाई आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति तथा सघन उपचारका लागि अन्य शहर जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।
25 दिन पहिले
  
146 Post Views