‘प्रतिवैरम्’ चार भाषामा प्रदर्शन हुने, जनकपुरमा प्रचारप्रसार तीव्र
निर्देशक रोशन दासको निर्देशनमा बनेको नेपाली चलचित्र ‘प्रतिवैरम्’ नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा प्रदर्शन हुने भएको छ। चलचित्रको प्रचारप्रसारलाई लक्षित गर्दै शनिबार जनकपुरधामस्थित रघुपति होटलमा आयोजित प्रेस मिटमा निर्माण पक्षले चार भाषामा चलचित्र प्रदर्शन गर्ने योजनाबारे जानकारी गराएको हो।
‘
जनकपुरधाम ।
मधेशको सामाजिक परिवेश, संस्कृति, पारिवारिक सम्बन्ध, अपराध र बदलाको कथामा आधारित चलचित्रलाई विभिन्न भाषामार्फत फराकिलो दर्शकवर्गसम्म पुर्याउने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ।
कार्यक्रममा निर्माता सत्यराज चौलागाईं, निर्माता हर्षकुमारी यादव, कार्यकारी निर्माता विक्की साह, निर्देशक रोशन दास, अभिनेता सम्राट दास, अभिनेता बिरेन्द्र सिंह कुशवाहा तथा साउन्ड डिजाइनर दीपेन्द्र साहलगायत सहभागी थिए। उनीहरूले नेपाली र मैथिली भाषामा पत्रकारहरूसँग संवाद गर्दै चलचित्रको कथावस्तु, निर्माण अनुभव र प्रचारप्रसारका योजनाबारे जानकारी गराएका थिए।
मधेशकै विषयवस्तुमा चलचित्र निर्माण गरिए पनि अपेक्षाअनुसार स्थानीय क्षेत्रबाट सहयोग र समर्थन नपाएको निर्माण पक्षले गुनासो गरेको छ। चलचित्रलाई दर्शकमाझ पुर्याउन स्थानीय पत्रकार, सञ्चारकर्मी र सरोकारवालाको सहयोग महत्त्वपूर्ण हुने उल्लेख गर्दै निर्माण टिमले प्रचारप्रसारमा साथ दिन आग्रह गरेको थियो। सहभागी पत्रकारहरूले पनि चलचित्रको प्रचारमा सहयोग गर्ने धारणा व्यक्त गरेका थिए।
यसैबीच, चलचित्रमा समावेश मैथिली गीत ‘मिता रे’ हालै सार्वजनिक गरिएको छ। दाजु–बहिनीबीचको आत्मीयता, माया र पारिवारिक सम्बन्धलाई प्रस्तुत गरिएको गीतले मधेशको सांस्कृतिक परिवेशलाई समेत समेटेको निर्माण पक्षको भनाइ छ।
रेज इन्टरटेन्मेन्टको प्रस्तुति तथा विभिन्न निर्माण कम्पनीको सहकार्यमा बनेको चलचित्रको कथा निर्देशक दासले लेखेका हुन् भने पटकथा तथा संवाद युवराज भट्टराईले तयार पारेका छन्। चलचित्रमा सम्राट दास, बिरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण बिक, आशिष डिके र रमेश बुढाथोकीलगायत कलाकारको अभिनय रहेको छ।
नेसनल सिनेमा ग्रुप नेपाल (NCGN) ले वितरण गर्ने चलचित्र आगामी मंसिर ४ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ। चार भाषामा प्रदर्शन गर्ने योजनाले मधेशको कथा र संस्कृतिलाई विभिन्न भाषिक समुदायका दर्शकमाझ पुर्याउने अपेक्षा निर्माण पक्षले गरेको छ।
41 मिनट पहिले
  
51 Post Views

